प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, गृहमन्त्री गुरुङ राजीनामा दिन तयार


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार दिउँसो साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठक बस्ने भएको छ । त्यसअघि प्रधानमन्त्री बालेनले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसहित कर्मचारीहरूसँग छलफल गरिरहेका छन् ।

बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल जारी रहेको प्रधानमन्त्री बालेनकी प्रेस विज्ञ दीपा दाहालले बताइन् । उनका अनुसार यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारेसमेत छलफल हुनेछ ।

यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिने सम्भावना बढी रहेको बताइन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङले राजीनामा दिन लागेको बताइन्छ ।

प्रधानमन्त्री बालेनले सो विषयमा स्पष्टीकरण माग गरेपछि गुरुङले सोमबार साँझ लिखित जवाफ पेस गरेका थिए। आफूविरुद्ध उठेका प्रश्नहरूको अनुसन्धानमा सहयोग पुर्‍याउन र विवादमुक्त भएर फर्कने वातावरण बनाउन प्रधानमन्त्री बालेनको सुझाव र आफ्नै प्रतिबद्धताबमोजिम गुरुङ मन्त्रीबाट बाहिरिन तयार भएको रास्वपा स्रोतले बतायो ।