गृहमन्त्री गुरुङले राजीनामा नदिने, खोतल्न थाले ठूला फाइल


काठमाडौं । अपारदर्शी स्रोत, आम्दानी, बिचौलिया दीपक भट्टसँग साझेदारमा नाम जोडिएर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा नदिने भएका छन् । आइतबारदेखि विवादमा तानिएका उनलाई पद छाड्न चौतर्फी दबाब परेको थियो । त्यसपछि उनले रास्वपा सभापति रवि लामिछानेसँग तीनपटक भन्दा बढी भेटवार्ता गरेका थिए । सोमबार प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई स्पष्टीकरण बुझाएका उनी अब पद नछाड्ने निष्कर्षमा पुगेका छन् ।

बार्बरा फाउन्डेसन र जंगी अड्डाको दह्रो साथ पाएका सुधनलाई गृहमन्त्रीबाट हटाउँदा सरकार नै तलवितल हुने खतरा देखेपछि बालेन र रवि उनलाई नहटाउने निष्कर्षमा पुगेको स्रोतले बतायो । त्यही भएर अहिले सुधनले आफू्र झन् आत्मविश्वासका साथ अगाडि बढ्ने बताउन थालेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरिसकेका छन् ।

गृहमन्त्री गुरुङले प्रहरी प्रमुख दानबहादुर कार्की,काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहितका उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन् । मंगलबार मन्त्रालयमा भएको छलफलमा केही ठूला प्रकरणका फाइलहरू खोल्दै उच्च तहका व्यक्तिहरूलाई पक्रने तयारी गरिएको बताइन्छ । आफूमाथि लागेका आरोपहरूलाई गृहमन्त्रीले मिडिया ट्रायल र प्रायोजित हल्लाको संज्ञा दिएका गुरुङले कारबाही रोकिँदैन, डगमगाइँदैन भनेका थिए । सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा दिएका सुधनको विभिन्न क्षेत्रमा अपरादर्शी लगानी देखिएको छ ।