काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हालसम्म दुईजना गृहमन्त्री भएका छन्, रवि लामिछाने र सुधन गुरुङ । २०७९ को आमनिर्वाचनलगत्तै लामिछाने पुष्कपमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री भएका थिए । तर, नागरिकता प्रकरणका कारण राजीनामा दिन उनी बाध्य भए । उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेको ३२ दिनमै सर्वोच्च अदालतले सांसद बन्न अयोग्य ठहर गरेपछि उनले पद त्याग्नुपरेको थियो ।
उनीमाथि नेपाली र अमेरिकी दुवै पासपोर्ट एकैसाथ प्रयोग गरेको आरोप लागेको थियो । यसपटक रास्वपाको एकल सरकार निर्माण भएको छ, वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा । उतिबेला लामिछानेलाई गृहमन्त्री बनाउन केपी ओलीको भूमिका थियो, यसपटक प्रधानमन्त्री शाहकै छनोटका उपज थियो ।
तर, उनले पनि राजीनामा दिनुपरेको छ । रवि लामिछाने पहिलो कार्यकालमा दुई तीन महिना गृहमन्त्रालयमा रहन पाए, तर गुरुङ एक महिना पनि नपुग्दै राजीनामा दिएर बाध्य हुनुपरेको छ । लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा त पुरानो गठबन्धन नै भत्केर नयाँ गठबन्धन निर्माण भएको थियो ।
यसपटक भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको र हाल हिरासतमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसँगको व्यवसायीक साझेदारीको विषयले गुरुङको मन्त्री पद गुमेको छ । यसबाट के गृह रास्वपालाई फाप्दै नफाप्ने मन्त्रालय हो ? भन्ने प्रश्न उब्जेको छ । कतिपयले प्रधानमन्त्री शाहले हाल आफैंसँग गृह मन्त्रालय राख्ने र सुधनमाथिको अनुसन्धान पूरा भएपछि उनलाई फेरि बहाली गराउने तयारी भएको दाबी गरेका छन् ।













प्रतिक्रिया