काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारको तयारीप्रति विरोध जनाउँदै राजधानीमा प्रदर्शन सुरु भएको छ । सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनिश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।
सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित छन् । उनीहरुले लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् ।
सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै माइकि’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर केही युवाहरु भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा प्रदर्शन भएको हो ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबार प्रहरी प्रमुखहरूलाई बोलाएर उनले शनिबार र आइतबारका लागि सुरक्षा तयारी गर्न निर्देशन दिएको बताइएको छ ।
प्रधानमन्त्री बालेनले काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएको चर्चासँगै राष्ट्रिय सुकुम्बासी मोर्चाको बैठक बसेको थियो । शंखमुलस्थित कार्यालयमा बिहीबार दिउँसो बसेको बैठकले प्रतिरक्षाका लागि जुनसुकै हदमा उत्रिन तयारी अवस्थामा रहने निर्णय गरेको मोर्चाका उपाध्यक्ष पवन गुरुङले बताए ।














प्रतिक्रिया