बालेनको कामले रविलाई पाे टेन्सन


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सुकुम्वासी बस्ती हटाउनेबारे जानकारी नभएको बताएको छ । रास्वपा प्रवक्ता मनिष झाले सुकुम्वासी समस्याबारे सरकारलाई नै सोध्न आग्रह गरेका छन् । सुकुम्वासी हटाउने विषयबारे पार्टीमा छलफल भएको छ कि छैन, रास्वपाको धारणा के हो भन्ने प्रश्नमा झाले भने, ‘त्यो विषयबारे सरकारका प्रवक्तालाई नै सोध्नू ।’ शनिबारदेखि काठमाडौं उपत्यकाका सुकुम्वासी बस्तीमा डोजर चलाउने अन्तिम तयारी भइरहेको बेलामा सत्तामै रहेको दलले सरकारलाई नै थाहा हुने बताएको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले समेत सुकुम्बासी हटाउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल नभएको बताइसकेका छन् । फागुन २१ गतेको प्रतिनिधिसभा चुनावअघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा पुगेर कसैले डोजर चलाउँछ भने आफू सबैभन्दा पहिला छाती थाप्न जाने आश्वासन दिएका थिए ।

बस्तीमा डोजर चलाउने सरकारको तयारीविरुद्ध सुकुम्वासीहरू प्रदर्शनमा उत्रिसकेका छन् । उनीहरूले सभापति लामिछानेलाई छाती थाप्न आउन आग्रह गरिरहेका छन् । सरकारको तयारीले रविलाई थोरै नैतिक प्रश्न भने उब्जेको छ । आफ्नै पार्टीले गर्ने कामबारे उनलाई नै जानकारी नभएको देखिएको छ ।

गृह मन्त्रालयको समेत जिम्मवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाह बालेन कुनै पनि हालतमा उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियानमा छन् । उनले बुधबार नै सुरक्षा निकायलाई बोलाएर सुकुम्बासी बस्ती हटाउने तयारी थाल्न निर्देशन दिएपछि अहिले यसको आलोचना र प्रशंसा भइरहेको छ । तर सरकारको कामकारबाहीबारे पार्टीसँग समन्वय नभएको प्रस्ट देखिन्छ ।