सुकुम्बासी बस्तीमा सिसीटिभी राखेर धमाधम आन्दोलनकारी पक्राउ गर्दै प्रहरी


काठमाडौं । प्रहरीले थापाथलीको सुकुम्बासी बस्तीको सडकमा सिसीटिभी राख्न थालेको छ । शनिबार र आइतबारसम्म सुकुम्बासी खाली गर्न उर्दी दिएको प्रहरीले विरोध गर्न खोज्ने आन्दोलनकारी समाउन सिसीटिभी राख्न थालेको हो । सरकारको निर्देशन नमान्दै सुकुम्बासीको पक्षमा आन्दोलनमा उत्रिनेको पहिचान गरी पक्राउ गर्न प्रहरीले सिसीटिभी राख्ने अभियान अगाडि बढाएको हो ।

प्रहरीले बिहीबर साँझ बागमती किनार आसपासमा माइकिङ गरेर शुक्रबार साँझसम्म बस्ती खाली गर्न भनेपछि आज बिहानैदेखि सुकुम्बासीहरूले सरकारको निर्णयविरूद्ध प्रदर्शन गरिरहेका छन् । अहिले अधिकांश सुकुम्बासी आफ्नो सामान हटाउने अभियानमा लागेका छन् । सरकारले थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्वासी बस्ती हटाउन लागेको छ यसैबीच, संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन् ।

तीन वर्षअघि त्यही क्षेत्रमा पेट्रोल बमलगायत प्रहार गरेको भन्ने विषयमा अनुसन्धान गर्न उनलाई होल्ड गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । यसअघि बालेन शाह काठमाडौं महानगर प्रमुख हुँदा ती क्षेत्रका बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला काठमाडौं महानगर प्रहरी सुकुम्बासी बस्ती क्षेत्रमा जाँदा महानगर प्रहरीमाथि ढुंगामुढा भएको थियो । उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्बासी नेताहरूविरूद्ध प्रहरीमा उजुरीसमेत दिएका थिए ।