हेडमास्टर थर्काउने रास्वपा सांसद पोखरेल बुझ्छन् दोहोरो सरकारी सुविधा


काठमाडौँ । ओखलढुंगाका एक प्रधानाध्यापकलाई आफ्नो स्वागत गर्न नआएको भनेर थर्काउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले दोहोरो सरकारी सुविधा लिने गरेको पाइएको छ ।

प्रतिनिधिसभा सदस्य बनेपछि पनि उनले नेपाल प्रहरीको पूर्वएआईजीको हैसियतमा पेन्सन सुविधा खाइरहेका छन् ।
सरकारी ढुकुटीबाट दोहोरो सुविधा लिनु अनैतिक मानिन्छ । विगतमा प्रतिनिधिसभाले दोहोरो सुविधा लिन नपाइने विधेयक नै संसदमा पेस गरेको थियो ।

सांसद पोखरेलले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकास्थित चण्डेश्वरी मावि पोल्थलीका प्रधानाध्यापक शान्तबहादुर मगरलाई हप्काउने क्रममा नेपाल सरकारबाट अहिले पनि ५० हजार रुपैयाँ पेन्सन खाइरहेको रहस्य आफैंले खुलासा गरेका हुन् ।

दोहोरो सुविधा लिइरहेको स्वीकारोक्ति प्रकट गर्दै सांसद पोखलेले विद्यालयको प्रांगणबाट भने, ‘म विशिष्ट श्रेणीको रिटायर्ड कर्मचारी हो, अहिले पनि सरकारले ५० हजार पेन्सन दिन्छ मलाई ।’ अघिपछि पञ्चेबाजासहित गाउँमा पुगेका सांसद पोखरेललाई विद्यालयका प्रधानाध्यापकले सम्मान नगरेको भन्दै पोखरेलले थर्काएर माफी माग्न लगाएका थिए । जुन विषयका कारण उनले पछि माफी मागेका थिए ।

पोखरेल बेलाबेला आफ्नै अभिव्यक्तिका कारण विवादमा आइरहन्छन् । यसअघि उनले आफूले कांग्रेस नेतृ आरजु राणा देउवालाई सात करोड बुझाएर आइजी भएको भए सांसद बन्न नपाउने अभिव्यक्ति दिएका थिए ।