धादिङ–नुवाकोटका बस एकीकृत बसपार्कबाट सञ्चालन, व्यवसायीलाई काउन्टर उपलब्ध गराइने


काठमाडौं l काठमाडौँ महानगरपालिकाले धादिङ र नुवाकोटतर्फ सञ्चालन हुने सार्वजनिक यातायातलाई एकीकृत बसपार्कभित्रबाटै सञ्चालनमा ल्याएको छ। महानगरका अनुसार अब ती रुटका बसहरूले बसपार्कभित्रबाटै यात्रु चढाउने, ओराल्ने र टिकट काउन्टर सञ्चालन गर्नेछन्।

कार्यवाहक प्रमुख सुनिता डंगोल ले संवाद र समन्वयमार्फत व्यवसायीहरूसँग समझदारी गर्दै लामो समयदेखि अड्किएको एकीकृत बसपार्क सञ्चालनको समस्या समाधान गरिएको बताउनुभयो। “व्यवसायीहरूले हाम्रो आग्रह स्वीकार गर्नुभयो। समन्वयमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र बसपार्क सञ्चालकको महत्वपूर्ण भूमिका रह्यो,” उहाँले भन्नुभयो।

उहाँका अनुसार बसपार्कभित्रबाट सेवा सञ्चालन सुरु भएपछि चक्रपथ कोरिडोरमा अव्यवस्थित पार्किङको समस्या घटेको छ भने सडक किनारामा यात्रु चढाउने–ओराल्ने क्रममा हुने दुर्घटनाको जोखिम पनि कम भएको छ। “सहरी व्यवस्थापनमा यो अभ्यास अनुकरणीय बनेको छ, सबै पक्षको जित भएको छ,” डंगोलको भनाइ छ।

महानगरले वैशाख ७ गते सार्वजनिक सूचना जारी गर्दै बसपार्कबाहिर सवारी रोक्ने र यात्रु चढाउने–ओराल्ने कार्य बन्द गर्न अन्तिम निर्देशन दिएको थियो। सोही दिन बसेको समन्वय बैठकले ३ दिनको अतिरिक्त समय दिँदै निर्णय कार्यान्वयनमा जोड दिएको थियो।

प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक करिब ७ सय सार्वजनिक सवारी बाहिरिने गरेका छन्, जसमा करिब ३५० सवारी बसपार्क बाहिरै पार्किङ हुने गरेको अवस्था थियो। अब उक्त प्रवृत्ति नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।

ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का अनुसार हाल नुवाकोटतर्फ करिब ६५ र धादिङतर्फ करिब ९० सवारी साधन बसपार्कभित्रबाट सञ्चालनमा आएका छन्। व्यवसायीहरूले मागेअनुसारको स्थान र काउन्टर सुविधा क्रमशः उपलब्ध गराइने जनाइएको छ।

१६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा करिब ७५० सवारी साधन व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ। यहाँबाट दैनिक औसत ३४० सवारी साधन आवतजावत गर्ने गरेका छन्।