काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गतेका लागि तय गरिएको साधारण सभा स्थगित भएपछि सोमबार उद्घाटन सत्र सम्पन्न गरिएको थियो।
महासङ्घको संशोधित विधान–२०८१ अनुसार अब अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा प्रत्यक्ष मतदान हुँदैन। वरिष्ठ उपाध्यक्ष स्वतः भावी अध्यक्ष हुने व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी अध्यक्ष बन्ने निश्चित भएको छ।
यस निर्वाचनमा उपाध्यक्ष र कार्यसमिति सदस्यका पदमा मात्रै मतदान भइरहेको छ। कुल ७३ पदका लागि १३७ जना व्यवसायी प्रतिस्पर्धामा छन्। चार उपाध्यक्षमध्ये २ जना जिल्ला–नगर समूहबाट, १ जना एसोसिएट र १ जना वस्तुगत समूहबाट निर्वाचित हुनेछन्।
निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठान मा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। मतदानमा २ हजारभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ भने नतिजा बुधबार सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
यसपटक वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
मतदाताको संरचनाअनुसार एसोसिएटतर्फ १,८५०, जिल्ला–नगरतर्फ १२९, वस्तुगत सङ्घतर्फ १०७, वस्तुगत महासङ्घतर्फ १७, द्विराष्ट्रियतर्फ ८ र संस्थापकतर्फ १२ जना रहेका छन्।














प्रतिक्रिया