बालेन सरकारले देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई पठाइयो थप कागजात


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा गत १४ फागुनमा उपचारका लागि भन्दै सिंगापुर पुगेका छन् । त्यसपछि देउवा दम्पति नेपालमा हालसम्म फर्किएका छैनन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध गत २४ चैतमा पक्राउ पुर्जी जारी गरिसकेको छ । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो । देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर, इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेन ।

रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेको थियो । इन्टरपोलले मागेअनुसारको कागजात एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले विवरण पठाएको प्रहरी प्रधान कार्यालयका एक उच्च पदाधिकारीले जानकारी दिएको छ । रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याइनेछ ।