बारम्बार ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ६ महिनाका लागि निलम्बन हुने भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक नियम मिच्दै आएका ती चालकहरूको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो।
ट्राफिक प्रहरीका अनुसार केही चालकले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ। लगातार नियम उल्लङ्घन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी व्यवस्था अनुसार कडा कारबाही प्रक्रिया अघि बढाइएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ।
लाइसेन्स निलम्बन भएपछि सम्बन्धित चालकहरूले आगामी ६ महिनासम्म कुनै पनि प्रकारका सवारीसाधन चलाउन पाउने छैनन्।
ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन अब बारम्बार नियम मिच्ने चालकलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट गरेको छ।
















प्रतिक्रिया