आफ्नै रेकर्ड तोड्दै कामिरिता: ३२औँ पटक सगरमाथा आरोहण


‘एभरेष्टम्यान’ उपनामले विश्वभर परिचित विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पा ले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप उचाइ दिएका छन्।

५६ वर्षीय शेर्पाले आज (आइतबार) बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले कायम गरेको ३१ पटकको कीर्तिमान तोडेका हुन्।

उनले गत वर्ष जेठ १३ गते ३१औँ पटक सगरमाथा आरोहण पूरा गरेका थिए। यस वर्षको वसन्तकालीन आरोहण सिजनमै उनले ३२औँ पटक शिखर चुम्दै नयाँ इतिहास रचेका हुन्।

कामिरिता शेर्पा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका हुन्। पर्वतारोहण नै उनको मुख्य पेशा हो, र उनी लामो समयदेखि हाई अल्टिच्युड माउन्टेन गाइडका रूपमा कार्यरत छन्।