ऋषि धमलाले घोषणा गरे स्वतन्त्र नागरिक अभियान नेपाल, ३३ बुँदे प्रतिबद्धता पत्रमा केके छ ?


काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल” औपचारिक रूपमा घोषणा गरिएको छ। शुक्रबार राजधानीस्थित रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष कार्यक्रममा ५१ सदस्यीय अभियान समिति सार्वजनिक गरिएको हो। ‘समयमै काम, तत्काल परिणाम’ मूल नारासहित सुरु गरिएको अभियानले बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने घोषणा गरेको छ।

अभियानको सचिवमा हेमराज अधिकारी रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ऋषि धमलाले नयाँ सरकार गठनसँगै देशमा विकास, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु भएको बताएका छन्। उनले जनताले अब भाषणभन्दा परिणाम खोजिरहेको उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाहलाई “एक्सन–ओरिएन्टेड” नेतृत्वका रूपमा जनताले आशा गरेको धारणा राखे।

धमलाले भने, “देश परिवर्तनका लागि अब नागरिक आफैं जाग्नुपर्छ। हाम्रो अभियान सरकार ढाल्ने होइन, जनताको अपेक्षाअनुसार काम गर्न सरकारलाई सहयोग र दबाब दिने अभियान हो।” उनले पुराना राजनीतिक दल र नेतृत्वप्रति कटाक्ष गर्दै विगत ३५ वर्षमा देशले सुशासन, रोजगारी र विकासको अनुभूति गर्न नसकेको बताए।

उद्योग–धन्दा बन्द हुनु, युवाहरू विदेशिन बाध्य हुनु तथा भ्रष्टाचार मौलाउनु पुराना नेतृत्वको असफलता भएको उनको आरोप थियो। अभियानले बालेन सरकारसँग सहकार्य गर्दै ३१ बुँदे “सहयात्रापत्र” समेत सार्वजनिक गरेको छ। जसमा सुशासन, भ्रष्टाचारमुक्त राज्य, शिक्षा र स्वास्थ्यमा समान पहुँच, युवालाई रोजगारी, योग्यतामा आधारित नियुक्ति प्रणाली, व्यावहारिक शिक्षा, लाइसेन्स प्रणाली र सामाजिक सुरक्षालगायतका विषय समेटिएका छन्।

धमलाले अभियानलाई देशव्यापी बनाउँदै ७५३ वटै स्थानीय तहका वडास्तरसम्म विस्तार गर्ने योजना समेत सार्वजनिक गरेका छन्। उनले वर्तमान सरकारलाई पाँच वर्ष स्थिर रूपमा काम गर्न दिनुपर्ने धारणा राख्दै सबै राजनीतिक शक्ति र नागरिकलाई सकारात्मक सहयोग गर्न आग्रह गरे। कार्यक्रममा उनले जेन–जी आन्दोलनमा भएको दमनको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग समेत गरेका छन्।