ग्यालेक्सी फोरकेका सामान उठाउन महानगरको १५ दिने अन्तिम सूचना


काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ३ निवासी मृगेन्द्रप्रसाद मिश्र वादी तथा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो ।

फैसलाअनुसार प्रतिवादीबाट घर बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो । त्यसपछि उच्च अदालत पाटनले २८ साउन २०८२ मा उक्त निर्णय दुई महिनाभित्र कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो ।

अदालतको आदेशपछि महानगरपालिकाको टोलीले १४ कात्तिक २०८२ मा पुगेर निर्णय कार्यान्वयन गरेको जनाएको छ ।

महानगरका अनुसार निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले २१ वैशाख २०८३ मा ग्यालेक्सी फोरकेमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै निवेदन दिएका थिए । सोही आधारमा महानगरले सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनामा १५ दिनभित्र बाँकी बहाल रकम बुझाई आफ्नो सरसामान लगी घर खाली गर्न अन्तिम अवसर दिइएको उल्लेख छ । तोकिएको समयभित्र सामान नलगिएमा काठमाडौं महानगरपालिका न्यायिक समिति कार्यविधिअनुसार सामान लिलाम गरिने चेतावनी दिइएको छ ।

ग्यालेक्सी फोरके टेलिभिजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane को नेतृत्व तथा जीबी राईलगायतको लगानीमा सञ्चालनमा आएको टेलिभिजन हो । रवि लामिछाने राजनीतिमा प्रवेश गरेको केही महिनापछि टेलिभिजन बन्द भएको थियो ।