महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा डिभिजन वन कार्यालयको गाडीमा आगजनी गरिएको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार गएराति करिब १२ बजे वन कार्यालयको गाडी जलाइएको हो ।
वन क्षेत्रभित्र रहेको बस्ती खाली गराउन सोमबार साँझ सूचना जारी गर्न वन कार्यालयका कर्मचारीहरू कालापानी पुगेपछि स्थानीयवासी आक्रोशित बनेका थिए । स्थानीयहरूले वन अधिकृत स्वेता झाको नेतृत्वमा गएको सात सदस्यीय टोलीलाई रातिसम्म नियन्त्रणमा राखेका थिए ।
पछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले वन कर्मचारीहरूको उद्धार गरेको जनाएको छ । घटनाका क्रममा स्थानीयले बीपी राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए ।
डिभिजन वन कार्यालयका प्रमुख मिश्रका अनुसार राजाबास, कालापानी र वरडाडा क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमण गरी घरटहरा निर्माण तथा खेतीपाती गरिएको छ ।
घटनापछि आज बिहानदेखि पनि स्थानीयवासीले सडक अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका छन् ।
















प्रतिक्रिया