श्रम स्वीकृति नलिई विमानस्थल नआउन अध्यागमनको आग्रह


काठमाडौं, जेठ १७ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्राप्त भएपछि मात्रै विदेश यात्राका लागि विमानस्थल आउन आग्रह गरेको छ।

विभागले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा विदेश जाने केही नेपालीहरूले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएर स्वीकृति नआउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गरेको जनाएको छ। यसले यात्रुहरूलाई अनावश्यक झन्झट र समस्या पर्ने भएकाले श्रम स्वीकृति जारी भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरिएको हो।

अध्यागमन विभागका अनुसार कतिपय श्रमिकले आफूले श्रम स्वीकृति प्राप्त गरिसकेको दाबी गरे पनि वास्तविकतामा अन्य व्यक्ति वा म्यानपावर कम्पनीमार्फत आवेदन मात्रै दर्ता गरिएको हुने र त्यसबारे श्रमिक स्वयंलाई जानकारी नहुने अवस्था देखिएको छ।

विभागले श्रम स्वीकृति आवेदन दर्ता हुनु र स्वीकृत हुनु फरक प्रक्रिया भएकाले आवेदन मात्र दिएको आधारमा विदेश प्रस्थान गर्न नपाइने स्पष्ट पारेको छ। श्रम अनुमति स्वीकृत नभएको अवस्थामा श्रमिक भिसामा अध्यागमनबाट प्रस्थान अनुमति दिन कानुनी रूपमा सम्भव नहुने पनि विभागले जनाएको छ।

त्यसैले वैदेशिक रोजगारीका लागि विदेश जाने सबै नेपाली नागरिकलाई श्रम स्वीकृतिको अवस्था अनिवार्य रूपमा जाँच गरी स्वीकृति प्राप्त भएपछि मात्र विमानस्थल पुग्न विभागले आग्रह गरेको छ।