काठमाडौंमा एकै दिन २ हजार ४४५ चालक कारबाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४४५ चालकलाई पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १२८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४१ जना तथा तीव्र गतिमा सवारी चलाउने १८३ जनामाथि कारबाही गरिएको हो।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ४३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना, सडक पेटीमा पार्किङ गर्ने १४ जना र एकतर्फी सडकमा सवारी चलाउने १६६ जना पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न सबै चालकलाई आग्रह गर्दै नियम उल्लङ्घन गर्नेविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।