काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोस्ट्रमबाट दिएको अभिव्यक्तिप्रति सोही रोस्ट्रममा उभिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।
सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा सहभागी विपक्षी दलका नेताहरू प्रधानमन्त्रीले माफी माग्नुपर्ने विषयमा एकमत देखिएका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले देशको भौगोलिक अखण्डतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको भन्दै त्यसप्रति स्पष्ट रूपमा क्षमायाचना गर्नुपर्ने धारणा राखिएको थियो।
‘प्रधानमन्त्रीले जुन रोस्ट्रमबाट उक्त अभिव्यक्ति दिनुभएको हो, त्यही रोस्ट्रममा उभिएर सार्वभौम नेपाली जनतासँग माफी माग्नुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो। प्रधानमन्त्रीले माफी नमागेसम्म संसद्को अवरोध हटाउन सकिँदैन,’ बैठकमा सहभागी एक नेताले बताए।
उक्त बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन तथा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलगायत नेताहरू सहभागी थिए।
बैठकमा संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने उपाय, समसामयिक राजनीतिक घटनाक्रम तथा राष्ट्रिय चासोका विभिन्न विषयमा छलफल भएको बताइएको छ।

















प्रतिक्रिया