५४९ रुपैयाँमै मोबाइलमा विश्वकप हेर्न सकिने: डीजीओको विशेष प्याकेज, नेपाली कमेन्ट्री


काठमाडौं – फिफा विश्वकप २०२६ को रोमाञ्च नजिकिँदै गर्दा नेपाली फुटबलप्रेमीहरूका लागि खुसीको खबर आएको छ। नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओले विश्वकपका सम्पूर्ण खेलहरू हेर्न सकिने विशेष ‘मोबाइल पास’ सार्वजनिक गरेको छ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार दर्शकहरूले मात्र ५४९ रुपैयाँमा आफ्नो मोबाइलबाट विश्वकपका सबै १०४ खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। प्रतियोगिताका सबै खेलहरू फुल एचडी (१०८०पी) गुणस्तरमा उपलब्ध हुने डीजीओले जनाएको छ।

यस संस्करणको अर्को आकर्षण नेपाली कमेन्ट्री हो। विश्वकपका रोमाञ्चक क्षणहरू अब नेपाली भाषामै सुन्न सकिने व्यवस्था गरिएको छ। साथै, दर्शकहरूले आफ्नो रोजाइअनुसार नेपाली वा अंग्रेजी कमेन्ट्री चयन गर्न सक्ने ‘डुअल कमेन्ट्री’ सुविधा पनि पाउनेछन्।

डीजीओका अनुसार मोबाइल पास खरिद प्रक्रिया अत्यन्तै सरल बनाइएको छ। प्रयोगकर्ताले डीजीओ एप खोलेर केही क्लिकमै पास खरिद तथा सक्रिय गर्न सक्नेछन्। यसका लागि कुनै तेस्रो पक्षको सहयोग वा झन्झटिलो प्रक्रिया आवश्यक नपर्ने कम्पनीले जनाएको छ।

डीजीओले विश्वकपको आधिकारिक डिजिटल प्रसारण अनुभव सुरक्षित, सहज र गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै दर्शकहरूलाई केवल आधिकारिक प्लेटफर्ममार्फत सेवा लिन आग्रह गरेको छ।