उपत्यकामा ट्राफिक कडाइः एकै दिन १७ लाख ८६ हजार राजस्व उठ्यो


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा गरिएको ट्राफिक कारबाहीबाट रु १७ लाख ८६ हजार ५०१ राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५९८ चालकलाई कारबाही गर्दा उक्त रकम राज्यकोषमा दाखिला भएको हो।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १९९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६७ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२० जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने १६८ जना रहेका छन्।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने १२० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२६ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १५६ जना, एकतर्फी सडकमा सवारी चलाउने १८६ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३५६ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा सहयोग गर्न अनुरोध गरेको छ।