बालकुमारीमा गोली चल्यो, लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीको विशेष अपरेशन, ३ जना पक्राउ


ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा ब्युरोको टोली बालकुमारी क्षेत्रमा पुगेको थियो। टोली पुगेपछि शंकास्पद गतिविधि देखिएपछि नियन्त्रणमा लिन प्रयास गर्दा अवस्था नियन्त्रण बाहिर जाने सम्भावना देखिएको र त्यसपछि गोली चलाइएको बताइएको छ।

घटनाका क्रममा तीन जना कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूको पहिचान खुलाइएको छैन भने उनीहरूमाथि लागुऔषध सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट लागुऔषधसमेत बरामद गरेको र पक्राउ परेकाहरूसँग सोधपुछ जारी रहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।