रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य चयन हुने


भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। आजको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन तालिका सार्वजनिक गरिने तयारी गरिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार आज दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६:४५ बजे समापन हुनेछ। त्यसपछि उम्मेदवारी दर्तालगायत निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

निर्वाचनमा आधुनिक विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ। महाधिवेशनस्थलमा ८० वटा विद्युतीय उपकरणमार्फत मतदान गराइने व्यवस्था मिलाइएको छ। साथै, महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिहरूले रास्वपाको आफ्नै मोबाइल एपमार्फत मतदान गर्न सक्नेछन्।

निर्वाचनबाट एक जना सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन गरिनेछन्। निर्वाचन आयोगले उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार हुन नपाउने व्यवस्था पनि लागू गरेको जनाएको छ।

रास्वपाको पहिलो महाधिवेशनले पार्टीको भावी नेतृत्व र संगठनात्मक दिशा तय गर्ने भएकाले निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ।