प्रहरीलाई पनि अब हरेक १५ दिनमा तलब


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि नेपाल प्रहरीका कर्मचारीलाई पनि हरेक १५ दिनमा तलबभत्ता दिने व्यवस्था लागू गर्ने भएको छ। यस सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

परिपत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको जेठ २१ गतेको पत्रबमोजिम राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक (महिनामा दुई पटक) तलबभत्ता भुक्तानी गर्ने प्रणाली लागू गरिनेछ। यसअन्तर्गत कर्मचारीले प्रत्येक १५ दिनको अन्तरालमा तलब प्राप्त गर्नेछन्।

नेपाल प्रहरी प्रधान कार्यालयले सबै सम्बन्धित निकायलाई नयाँ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ। साथै, प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई पनि आर्थिक तथा भुक्तानी प्रणालीलाई नयाँ व्यवस्थाअनुसार अद्यावधिक गर्न निर्देशन दिइएको छ।

सरकारको यो निर्णयसँगै प्रहरी कर्मचारीको तलब व्यवस्थापन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।