कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीको प्रदर्शन, मूल्याङ्कनमा त्रुटि भएको आरोप


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बिहीबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले नतिजा प्रकाशन तथा उत्तरपुस्तिका मूल्याङ्कन प्रक्रियामा गम्भीर कमजोरी रहेको, पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विरोध जनाएका हुन्।

प्रदर्शनकारीहरूले ‘१२ वर्षको मेहनत खेर गयो, जिम्मेवार को?’, ‘हाम्रो भविष्य बर्बाद भयो’, ‘हामी न्याय खोज्न कहाँ जाऔँ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरेका थिए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७११ विद्यार्थी नन–ग्रेडेड (अनुत्तीर्ण) भएका छन्। विद्यार्थीहरूले नतिजाको पुनरावलोकन र मूल्याङ्कन प्रक्रियामा सुधारको माग गरेका छन्।