रास्वपाको उपसभापतिमा स्वर्णिमलाई बिराजभक्तको चुनौती


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदको प्रतिस्पर्धा रोचक बनेको छ। उपसभापति पदमा स्वर्णिम वाग्ले र बिराजभक्त श्रेष्ठ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

केन्द्रीय सदस्य निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्दै बलियो जनमत हासिल गरेका स्वर्णिम वाग्ले उपसभापतिका प्रमुख दाबेदारका रूपमा उभिएका छन्। अर्कोतर्फ, पार्टी संगठन निर्माण र नीतिगत बहसमा सक्रिय रहँदै आएका बिराजभक्त श्रेष्ठले पनि उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अन्तिम चरणतर्फ अघि बढिरहेका बेला उपसभापतिको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ। दुवै नेताको पार्टीभित्र प्रभाव र प्रतिनिधिमाझको समर्थनका कारण निर्वाचन परिणाम अनुमान गर्न कठिन देखिएको छ।

रास्वपाले नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने तयारी गरिरहेका बेला उपसभापति पदको यो प्रतिस्पर्धा महाधिवेशनको केन्द्रबिन्दु बनेको छ। अब प्रतिनिधिहरूको मतले कसको पक्षमा जनमत अभिव्यक्त हुन्छ भन्ने विषयले सबैको ध्यान तानेको छ।