नेपालमै पहिलो पटक लाइन नकाटी बिजुली मर्मतको अभ्यास सुरु


बुटवल । नेपाल विद्युत् प्राधिकरणले नेपालमै पहिलो पटक लाइन नकाटी लाइभ-लाइन मर्मतसम्भार बिजुली मर्मत–सम्भार गर्ने कार्यको प्रारम्भिक अभ्यास बुटवलबाट सुरु गरेको छ।

लुम्बिनी प्रादेशिक कार्यालयअन्तर्गत बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित ११ केभी वितरण लाइनमा नमुना रूपमा गरिएको अभ्यासमा तालिमप्राप्त प्राविधिक टोलीले विशेष सुरक्षा उपकरण प्रयोग गरी विद्युत् आपूर्ति अवरुद्ध नगरी चालु लाइनमै मर्मत कार्य सम्पन्न गरेको प्राधिकरणले जनाएको छ।

यो प्रविधिको प्रयोगबाट मर्मतका क्रममा विद्युत् सेवा बन्द गर्नुपर्ने आवश्यकता कम हुने, उपभोक्ताले लाइन कटौतीको समस्या कम भोग्नुपर्ने तथा विद्युत् आपूर्तिको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रारम्भिक अभ्यासको प्रभावकारिता र आवश्यकताको मूल्याङ्कनपछि विशेषगरी सहरी क्षेत्रमा यो प्रविधि क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए।

प्राधिकरणका अनुसार ‘लाइभ–लाइन मर्मत’ प्रविधिको विस्तारसँगै भविष्यमा मर्मतसम्भारका कारण हुने अनिवार्य लाइन कटौती घट्ने, विद्युत् सेवा थप भरपर्दो बन्ने र उपभोक्ताले निरन्तर विद्युत् सुविधा पाउने अपेक्षा गरिएको छ।