काठमाडौं । काभ्रेमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।
जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही व्यावसायिक पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि कुखुरा तथा हाँस नष्ट गरिएको हो।
वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत रोग थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
कार्यालयले सङ्क्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा कुखुरा ओसारपसारमा कडाइ गरिएको जनाएको छ। प्रयोगशाला परीक्षणको नतिजा ढिलो आउँदा आवश्यक नियन्त्रणका उपाय समयमै लागू गर्न कठिन भएको र त्यसले सङ्क्रमण बढाउन सहयोग पुगेको पनि जनाइएको छ।
डा. ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटी मापदण्ड कडाइका साथ पालना गर्न, खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, नियमित सरसफाइ गर्न तथा कुखुरा ओसारपसार गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरेका छन्।
यसैबीच, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिनाको तथा अवैध कुखुरा ओसारपसार रोक्न निगरानी र नियन्त्रण थप कडा पारिएको छ।

















प्रतिक्रिया