स्थानीय तहका समस्या समाधानबारे मन्त्री रावल र मधेशका मुख्यमन्त्रीबीच छलफल


काठमाडौं । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ।

भेटमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा स्थानीय तहमा देखिएका विभिन्न प्रशासनिक चुनौतीबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गरी समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरिरहेको जानकारी दिनुभयो। टोलीले पालिकाका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको उहाँले बताउनुभयो।

उहाँले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयले आवश्यक पहललाई निरन्तरता दिने बताउनुभयो।

छलफलमा मन्त्रालयका सचिव, सहसचिव तथा प्रतिनिधिसभा सदस्य रहोवर अन्सारीलगायतको उपस्थिति रहेको थियो।