अविरल वर्षापछि काठमाडौंका विभिन्न सडकमा जलमग्न, ट्राफिक प्रहरीले अपनायो विशेष सतर्कता


काठमाडौं l आज (२०८३ असार १८ गते) परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न सडक खण्डमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानका सीसीटीभी क्यामेराबाट प्राप्त दृश्यहरूले सडकमा पानी जमेको र केही स्थानमा यातायात सञ्चालन प्रभावित भएको अवस्था देखाएका छन्।

प्रतिकूल मौसमका बाबजुद ट्राफिक प्रहरीहरू निरन्तर सडकमा खटिएर सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक व्यवस्थापन गरिरहेका छन्।

ट्राफिक प्रहरीले सवारी चालक तथा सर्वसाधारणलाई सुरक्षित दूरी कायम गर्दै सावधानीपूर्वक सवारी चलाउन, अनावश्यक हतार र ओभरटेक नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, पानी जमेको तथा जोखिमयुक्त सडकमा विशेष सतर्कता अपनाउन तथा ट्राफिक प्रहरीको निर्देशनको पालना गर्दै आवश्यक सहकार्य गर्न आग्रह गरेको छ।

ट्राफिक प्रहरीको भनाइ छ, “वर्षा रोक्न सकिँदैन, तर सावधानी अपनाएर दुर्घटना रोक्न सकिन्छ। सुरक्षित यात्रा हाम्रो साझा जिम्मेवारी हो।”