काठमाडौं । महावीर पुनले नवप्रवर्तनमार्फत युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सके विदेशिने क्रम उल्लेखनीय रूपमा घटाउन सकिने बताएका छन्।
राष्ट्रियसभाको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय स्थापना हुनु सकारात्मक उपलब्धि भएको र यस क्षेत्रको बजेट पनि क्रमशः बढ्दै गएको बताए।
आफूले स्थापना गरेको आविष्कार केन्द्रमार्फत गरेका प्रयासहरूको चर्चा गर्दै उनले अघिल्ला सरकारले विज्ञान र प्रविधिलाई पर्याप्त प्राथमिकता नदिएकै कारण आफू राजनीतिमा आउनुपरेको स्पष्ट पारे।
मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब चार अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै उनले बजेट प्रस्तुत हुँदा मन्त्री नियुक्त नभएकाले तीन अर्ब ४० करोड रुपैयाँ अवण्डामा राखिएको बताए।
उनले प्रदेश तथा स्थानीय तहलाई पनि आफ्नो पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत विज्ञान र प्रविधिको क्षेत्रमा छुट्याउन आग्रह गरिएको उल्लेख गरे।
मन्त्री पुनका अनुसार मन्त्रालयले नेतृत्व पाएपछि आवश्यक कानुन निर्माण, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका काम अघि बढाइसकेको छ। साथै, युवा वैज्ञानिकहरूबाट अनुसन्धान प्रस्ताव आह्वान गरिने तयारी भइरहेको उनले जानकारी दिए।
उनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट पनि वृद्धि गरिने बताए।
नेपालमा हालसम्म केवल ९० वटा मात्रै पेटेन्ट दर्ता भएको उल्लेख गर्दै मन्त्री पुनले यसमा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गरे। विकसित राष्ट्रहरूले विज्ञान र प्रविधिमा गरेको लगानीकै प्रतिफलस्वरूप समृद्धि हासिल गरेको भन्दै उनले नेपालले पनि यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।
विदेशमा रहेका नेपाली प्रतिभा र वैज्ञानिकलाई खोजी गरेर स्वदेश फर्काउने अभियानमा मन्त्रालयले काम गरिरहेको समेत उनले बताए।

















प्रतिक्रिया