काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उपस्थित हुन पत्र जारी गरेको छ।
सोमबार विभागका अधिकारीहरूले बुढानीलकण्ठ नगरपालिका–२ स्थित भत्काइँदै गरेको निवास बाहिर सूचना टाँस्दै सात दिनभित्र ललितपुरको हरिहरभवनस्थित विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।
सूचनामा सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी जाँचबुझ तथा अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिबाट बाटो म्यादबाहेक सात दिनभित्र कार्यालय समयमै उपस्थित हुन भनिएको छ। तोकिएको अवधिमा उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
विभागले यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवामाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ई–पासपोर्ट प्रकरणको छानबिनका क्रममा आरजू राणा देउवाका नाममा पत्र जारी गरेको थियो। देउवा दम्पती पछिल्लो चार महिनादेखि हङकङमा रहेको बताइएको छ।

















प्रतिक्रिया