प्रधानमन्त्री बालेन शाहलाई गाली गरेको आरोपमा पक्राउ परेका पोखरेल पुर्पक्षका लागि थुनामा


पाँचथर। रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत पाँचथरले आदेश दिएको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका पोखरेलमाथि प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री युट्युबमार्फत प्रसारण गरेको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार उक्त मुद्दामा अदालतले पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश कुमार मास्केको इजलासले आदेश जारी गरेको जनाइएको छ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। पक्राउपछि देशभर विरोध भएपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो। त्यसपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।