सहमतिमा खेलबाड गरे सक्किने हो’ : रास्वपा नेतृत्वलाई कार्कीको चेतावनी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले पार्टीभित्र भएको मूल सहमतिमा अडिग रहनुपर्ने बताएका छन्।

बुधबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले पार्टीको सुरुवाती सहमतिलाई स्मरण गराउँदै, “सोच्ने नै हो भने राम्रो सोचौँ । पछाडि फर्किने नै हो भने त्यो सहमतिमा फर्कौँ जहाँ प्रष्ट भनिएको थियो, पार्टीको नेतृत्व रवि लामिछानेको हो, सरकार बने बालेन शाहको नेतृत्वमा बन्छ,” लेखेका छन्।

उनले रास्वपालाई मतदाताले दिएको जनादेश पनि यही सहमतिप्रतिको विश्वासका आधारमा आएको दाबी गरेका छन्। पार्टीको महाधिवेशनले समेत उक्त सहमतिलाई अनुमोदन गरेको उल्लेख गर्दै आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व, विधान, नीति र कार्यदिशाको आधार यही सहमति रहेको बताएका छन्।

कार्कीले सहमतिभन्दा बाहिर कोही नजाने विश्वास व्यक्त गर्दै देखिएका केही शंकास्पद विषयलाई प्राविधिक गडबडीका रूपमा लिएर सच्याउनुपर्ने धारणा राखेका छन्।

सहमतिमा खेलबाड भए त्यसको असर पार्टी वा नेतामा मात्रै सीमित नहुने उनको भनाइ छ। त्यसले परिवर्तनको सम्भावना, जनविश्वास र इमानदारीसमेत कमजोर बन्ने चेतावनी दिँदै उनले कोही पनि त्यस्तो बाटोमा नहिँड्ने विश्वास व्यक्त गरेका छन्।

अन्त्यमा उनले पुनः मूल सहमतिमा फर्किन आग्रह गर्दै लेखेका छन्, “किनकि, सोच्ने नै हो भने राम्रो सोचौँ । पछाडि फर्किने नै हो भने त्यो सहमतिमा फर्कौँ।”

Screenshot