काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपको माग गर्दै बिहीबार पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
योसँगै पौडेलको अनुसन्धानका लागि चौथोपटक म्याद थपिएको छ। अदालतको आदेशअनुसार अनुसन्धान अवधिभर उनलाई न्यायिक हिरासतमा राखिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्टसँग भएको आर्थिक कारोबारको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। विभागका अनुसार उक्त कारोबारका विभिन्न पक्षबारे प्रमाण सङ्कलन तथा सम्बन्धित व्यक्तिहरूको बयान लिने कार्य जारी छ।

















प्रतिक्रिया