काठमाडौं । सरकारले कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गर्दै सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको आचरण, व्यवहार र सेवा प्रवाहलाई थप निष्पक्ष, अनुशासित तथा मर्यादित बनाउन आचारसंहिता लागू गरेको हो।
मन्त्री प्रतिभा रावलको असार १६ गतेको निर्णयबाट स्वीकृत आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनका लागि सबै मन्त्रालय, महाशाखा तथा निकायमा पठाइएको छ।
आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाउने छैनन्। यद्यपि, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
त्यस्तै, फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा र जनविश्वासमा असर नपर्ने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ। सरकारको नीति तथा कार्यक्रमविपरीत लेख, टिप्पणी वा सामग्री सार्वजनिक गर्न पनि कर्मचारीलाई रोक लगाइएको छ।
आचारसंहिताले कर्मचारीलाई कार्यस्थलबाहिर सेवाग्राहीसँग अनावश्यक भेटघाट गर्न, सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न तथा पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिनसमेत निषेध गरेको छ। सरकारका अनुसार यी व्यवस्थाले कर्मचारीतन्त्रमा पारदर्शिता, निष्पक्षता र सुशासनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया