नगर प्रहरीको ‘ह्वील लक’पछि पठाओ चालकले राहदानी विभागअघि लगाए आगो, अवस्था गम्भीर


काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उत्पन्न विवादका बीच एक पठाओ चालकले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १:४५ बजे त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर–३ अगाडि मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्किएर आगो लगाएका हुन्।

प्रारम्भिक अनुसन्धानअनुसार पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखिएको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले त्यसमा ‘ह्वील लक’ लगाएको थियो। त्यसपछि भएको विवादका क्रममा आवेशमा आएर उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनास्थलमा खटिएको नेपाल प्रहरीले तत्काल आगो निभाएर उनको उद्धार गरेको थियो। गम्भीर घाइते नेपालीलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनको शरीरका विभिन्न भाग जलेका छन्। अवस्था गम्भीर भए पनि उनी बोल्न सक्ने अवस्थामा रहेका छन्। प्रहरीले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।