काठमाडौं l त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई स्वास्थ्य अवस्था अस्थिर रहेकाले तत्काल भारत उपचारका लागि नलैजाने निर्णय गरिएको छ।
उपचारमा संलग्न चिकित्सकहरूको सुझावअनुसार प्रारम्भमा उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको थियो। तर, स्वास्थ्य अवस्था थप जटिल र अस्थिर रहेकाले अहिलेको अवस्थामा स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन सक्ने निष्कर्षपछि तत्काल भारत नलैजाने निर्णय गरिएको हो।
यसक्रममा गृहमन्त्री सुधन गुरुङ उनलाई तत्काल विमानस्थल पुर्याउने तयारीका साथ मध्यरातमा ट्राफिक प्रहरीको गाडीसहित विमानस्थलको एअरसाइड क्षेत्र हुँदै जहाजसम्म पुगेका थिए। तर चिकित्सकहरूले स्थानान्तरण नगर्न सुझाव दिएपछि योजना रोकिएको बताइएको छ।
हाल गणेश नेपालीको उपचार काठमाडौंस्थित वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर भइरहेको छ। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचारका लागि भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्।
यसअघि सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय गरिसकेको छ।

















प्रतिक्रिया