काठमाडौं । अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः प्रभावित भएका छन्।
पीडितहरूका अनुसार बाढीका कारण अधिकांश घरायसी सामान, लत्ताकपडा तथा दैनिक उपभोगका सामग्री पानीले भिजेर नष्ट भएका छन्। राति अचानक बाढी पसेकाले धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्ने अवसरसमेत नपाएको उनीहरूको भनाइ छ। साथै, सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेको भन्दै उनीहरूले गुनासो गरेका छन्।
यता, गृह मन्त्रालयले भने राति १:३८ बजे डुबानको सूचना प्राप्त हुनासाथ उद्धार टोली परिचालन गरिएको जनाएको छ। मन्त्रालयका अनुसार दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो।
उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित स्थानान्तरण गरेको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जना अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्।
डुबानका कारण पीडितहरूको दैनिक जीवन प्रभावित भएको छ भने क्षतिको थप विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

















प्रतिक्रिया