काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान क्यान्सस सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टरले खेलको १०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभयो। स्विट्जरल्यान्डका डान एन्डोयले ६७औँ मिनेटमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो।
खेलको ७२औँ मिनेटमा स्विट्जरल्यान्डका ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो। त्यसपछि १० खेलाडीमा सीमित स्विट्जरल्यान्डले खेललाई अतिरिक्त समयसम्म ताने पनि अर्जेन्टिनाले त्यसको फाइदा उठायो।
अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाउनुभयो। त्यसपछि इन्जुरी समय (१२०+ मिनेट) मा लौटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गर्नुभयो।
अब सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इङ्ल्यान्डले शनिबार राति भएको अर्को क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

















प्रतिक्रिया