खरिपाटी पुगे बालेन सरकारका पाँच मन्त्री, सुकुम्बासीको अवस्था निरीक्षण गर्न


भक्तपुर । कीर्तिपुरस्थित होल्डिङ सेन्टर बाढी तथा डुबानमा परेपछि भक्तपुरको खरिपाटी सारिएका सुकुम्बासीहरूको अवस्था बुझ्न सरकारका पाँच मन्त्री खरिपाटी पुगेका छन्।प

विस्थापित परिवारहरूको बसोबास, खाद्यान्न, स्वास्थ्य सेवा तथा समग्र व्यवस्थापनको अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, श्रममन्त्री रामजी यादवलगायत मन्त्रीहरूको टोलीले आइतबार आकस्मिक निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा मन्त्रीहरूले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गाँस, बास, स्वास्थ्य अवस्था तथा आवश्यक सुविधाबारे जानकारी लिएका थिए।

यद्यपि मन्त्रीहरूको निरीक्षणसँगै सरकारको विपद् व्यवस्थापन र सुकुम्बासी व्यवस्थापनको कार्यशैलीप्रति व्यापक आलोचना भइरहेको छ। सुरुमै डुबानको जोखिम रहेको कीर्तिपुरस्थित स्थानमा सुकुम्बासीहरूलाई राखिएको र त्यसपछि फेरि विस्थापित गरेर खरिपाटी सार्नुपरेको घटनाले सरकारसँग दीर्घकालीन र स्पष्ट योजना नभएको भन्दै नागरिकहरूले प्रश्न उठाएका छन्।

पीडितहरूको गुनासो अनुसार सुरक्षित व्यवस्थापनको नाममा पटक–पटक स्थानान्तरण गरिँदा उनीहरूले मानसिक तथा भौतिक रूपमा थप सास्ती खेप्नुपरेको छ। विपद्को बेला अस्थायी समाधानभन्दा दीर्घकालीन र सुरक्षित पुनःस्थापनाको योजना आवश्यक रहेको उनीहरूको माग छ।