२४ घण्टा लामो वार्तापछि गणेश नेपाली मृत्यु प्रकरणमा ९ बुँदे सहमति


काठमाडौं। उपचारका क्रममा वीर अस्पतालको बर्न युनिटमा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको निधन भएपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच करिब २४ घण्टा लामो वार्तापछि ९ बुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि आइतबार सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले गठन भएको मितिले सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ।

यस्तै, छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमति भएको छ।

घटनास्थलमा खटिएका काठमाडौं महानगर प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गर्ने पनि सहमति भएको छ।

सहमतिअनुसार मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी उपलब्ध गराइनेछ भने आश्रित छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।

त्यसैगरी मृतकको आश्रित परिवारलाई राहतस्वरूप उचित रकम उपलब्ध गराइने, अन्त्येष्टि (सद्गत) को सम्पूर्ण व्यवस्था मिलाइने, शव परीक्षणलगायत कानुनी प्रक्रियामा सहजीकरण गरिने, एकाघरका परिवारजनको काठमाडौं आवतजावत तथा बसोबास खर्च व्यवस्थापन गरिने र पीडित परिवारका एकाघरका सदस्यको आवश्यक स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइने सहमतिमा उल्लेख छ।

सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको यो सहमतिसँगै गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर देखिएको विवाद समाधानतर्फ अघि बढेको जनाइएको छ।

यस्तो छ नौ बुँदे सहमतिपत्र