काठमाडौं। सोमबार बिहान काठमाडौंका विभिन्न स्थानमा शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको परिसरअगाडि राखिएका सवारीका विषयमा अनुसन्धान भइरहेको छ। त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि पनि एउटा कार पार्क गरिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले उक्त कार हटाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
यसैबीच, घटनास्थल आसपासका एक स्थानीयले कार राख्ने व्यक्ति त्यसपछि प्रहरीको गाडी चढेर गएको आफूले देखेको दाबी गरेका छन्। यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। प्रहरीले पनि यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
घटनापछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र अड्कलबाजी भइरहेका छन्। पत्रकारहरूको आवतजावतमा असर पर्ने गरी सञ्चारगृहअगाडि सवारी पार्क गरिएको भन्दै नेपाल पत्रकार महासंघले घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनास्थलको अवलोकनसमेत गरेको जनाएको छ।
यसैबीच, कान्तिपुर पब्लिकेसन्सको गेटअगाडि शंकास्पद रूपमा पार्क गरिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

















प्रतिक्रिया