हेटौंडा कपडा उद्योग संचालन गर्न नेपाली सेनाले थाल्यो काम परीक्षण उत्पादनको तयारी


काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित तयार गरिएको अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा आगामी दुई महिनाभित्र नेपाली सेनामार्फत परीक्षण उत्पादन सुरु गर्ने कार्ययोजना प्रस्तुत गरिएको छ।

प्रतिवेदनअनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ। अर्थ मन्त्रालयले उद्योग मन्त्रालयको प्रस्तावमा नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। त्यसपछि सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिएर सरसफाइ, मेसिन मर्मत तथा आवश्यक कच्चा पदार्थ खरिदको काम गरिरहेको छ।

उद्योगको भौतिक संरचना मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँ लागत अनुमान तयार पारेको छ भने उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको छ।

सरकारले प्रारम्भिक चरणमा पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने र त्यसको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि बढाएको छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै कार्यदलको सुझावअनुसार निर्धारित समयभित्रै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।