नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने


काठमाडौं । नेपालले सन् २०२८ को आईसीसी टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ छनोट प्रक्रियाअनुसार नेपालले एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन।

आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा सहभागी हुनेछन्। नेपाल पनि यही समूहमा परेकाले उसले क्षेत्रीय छनोटको चरण पार गर्नुपर्ने छैन।

नेपालले टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै यात्रा टुङ्ग्याएको थियो। विश्वकपमा स्वतः छनोट हुन नसके पनि त्यसको आधारमा ग्लोबल छनोटमा प्रत्यक्ष स्थान सुरक्षित गरेको हो।

ग्लोबल छनोटमा क्षेत्रीय छनोटबाट आउने आठ टोली थपिनेछन्। अफ्रिकाबाट दुई, एसियाबाट दुई, युरोपबाट दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त (ईएपी) क्षेत्रबाट एक–एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

ग्लोबल छनोटबाट प्रत्येक क्षेत्रका उत्कृष्ट एक–एक टोली र समग्र प्रदर्शनका आधारमा थप तीन टोली गरी कुल सात टोलीले सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन्। यसका लागि आईसीसीले न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ।

यसअघि विश्वकप छनोट एसिया–ईएपी, युरोप, अमेरिका र अफ्रिका क्षेत्रीय छनोटमार्फत हुने व्यवस्था रहेकामा आईसीसीले पुनः ग्लोबल छनोट प्रणाली लागू गरेको हो।

यससँगै आईसीसीले टी–२० विश्वकपको प्रतियोगिता संरचनामा पनि परिवर्तन गरेको छ। उक्त प्रस्ताव आईसीसीको सम्मेलनबाट पारित भइसकेको छ भने अन्तिम स्वीकृति नोभेम्बरमा हुने बैठकबाट दिइनेछ।