नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं l नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता भएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

कपिलवस्तु प्रहरीका अनुसार शाहविरुद्ध किटानी जाहेरी दर्ता भइसकेको छ भने घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

पीडित पक्षले सांसद शाह, कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहसहित १५–२० जनाको समूहले आफ्नो निवासमा प्रवेश गरी कुटपिट गरेको आरोप लगाएका छन्। साथै, सुरुमा जाहेरी दर्तामा ढिलाइ भएको भन्दै उनीहरूले प्रहरीको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए।

यता सांसद अभिषेकप्रताप शाहले भने आफू कुटपिट गर्न नभई विवाद साम्य पार्न घटनास्थल पुगेको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।