आज यी २३ जिल्लामा आकस्मिक बाढी आउनसकने जोखिम विशेष सर्तकता अपनाउन आग्रह


काठमाडौं ।आज देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ।

बाढीविद् बिनोद पराजुलीका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने नागरिक, सडक यात्री तथा निर्माण कार्यमा संलग्न सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले निरन्तर वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रका नदी–खोलामा बहाव बढ्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउनुपर्ने जनाएको छ।

यस्तै, मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले देशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद् डेविट ढकालका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।