ज्ञानेन्द्र शाहीलाई खगेन्द्रको कडा काउन्टर ! ‘भारत गएर आधा सिए, जापान गएर आधा पिए’ भन्दै गरे व्यङ्ग्य


काठमाडौं । जापान भ्रमणका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दिएको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले काउन्टर दिएका छन्।

सांसद सुनारले सामाजिक सञ्जालमार्फत शाहीको शैक्षिक पृष्ठभूमि र जापान भ्रमणका गतिविधिलाई व्यङ्ग्य गर्दै आलोचना गरेका हुन्। उनले शाहीलाई लक्षित गर्दै विभिन्न टिप्पणी सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा दुवै पक्षका समर्थकबीच आरोप–प्रत्यारोप बढेको छ।

विवाद जापानमा आयोजित एक कार्यक्रममा सुरु भएको हो। एउटै कार्यक्रममा अतिथिका रूपमा पुगेका दुवै सांसदबीच राजनीतिक विषयलाई लिएर कटाक्ष भएको थियो। कार्यक्रममा बोल्दै सांसद शाहीले आफूले केवल औपचारिक नमस्कार मात्र नगरी गृहमन्त्रीसँग आँखा जुधाएर र औँला ठड्याएर कुरा गर्ने बताएका थिए।

त्यसपछि सामाजिक सञ्जालमा रास्वपा समर्थकहरूले शाहीको आलोचना गरेका थिए। आफूविरुद्ध सुनियोजित प्रहार भएको भन्दै आक्रोशित बनेका शाहीले फेसबुक लाइभमार्फत कडा अभिव्यक्ति दिएका थिए।

उनले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र रास्वपा सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै आलोचनात्मक टिप्पणी गरेका थिए। साथै, रास्वपा समर्थकहरूमाथि पनि विवादास्पद शब्द प्रयोग गरेका थिए।

शाहीको अभिव्यक्तिप्रति रास्वपाका सांसद राजु पाण्डेले असन्तुष्टि जनाउँदै सार्वजनिक पदमा रहेका व्यक्तिले भाषा र मर्यादाको ख्याल गर्नुपर्ने बताएका छन्।

यता, राप्रपाले भने आफ्ना सांसदको बचाउ गरेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सांसद ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुस्बु ओलीमाथि योजनाबद्ध रूपमा साइबर बुलिङ भइरहेको भन्दै आपत्ति जनाएका छन्।

तीव्र आलोचनापछि सांसद शाहीले आफ्नो लाइभ भिडियो हटाएका छन्। तर उनले सामाजिक सञ्जालमार्फत पुनः व्यङ्ग्यात्मक शैलीमा आफ्नो बचाउ गरेका छन्। जापानबाट सुरु भएको यो राजनीतिक विवाद अहिले नेपालमा पनि सामाजिक सञ्जालमार्फत बहसको विषय बनेको छ।