काठमाडौं। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीलाई थप प्रभावकारी बनाउन सक्कली बिल लिने ग्राहकलाई नगद पुरस्कार दिने ‘लखपति योजना’ कार्यान्वयनमा ल्याउने भएको छ।
सरकारले तयार गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३’ अनुसार अब हरेक दिन एक जना नेपाली नागरिकलाई नगद पुरस्कार प्रदान गरिनेछ। साथै, हरेक महिना दुई जना विजेतालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ दिइने व्यवस्था गरिएको छ।
यो योजनामा भ्याट वा प्यानमा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी अनलाइन वा नगद भुक्तानीसहित सक्कली बिल लिने ग्राहक सहभागी हुन सक्नेछन्। बिलमा रहेको नम्बरकै आधारमा विजेता छनोट गरिने सरकारको तयारी छ।
सरकारले उपभोक्तालाई एक सय रुपैयाँभन्दा बढीको खरिद वा होटल तथा रेस्टुरेन्टमा सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन आग्रह गरेको छ। यसले कर प्रणालीलाई पारदर्शी बनाउनुका साथै कर छलि नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यविधिअनुसार हाललाई प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा पुरस्कार घोषणा गरिनेछ।
चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार भइसकेको सरकारले जनाएको छ। योजनासम्बन्धी विस्तृत व्यवस्था करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३ मा उल्लेख गरिएको छ।

















प्रतिक्रिया