सरकारविरुद्ध विभिन्न माग राख्दै डा. गोविन्द केसी आजदेखि अनसनमा


मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आजदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनसन) सुरु गर्दैछन्।

केही दिनदेखि दार्चुलामा रहेका डा. केसी बुधबार साँझ धनगढी पुगेका हुन्। उनी एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका छन् र आज त्यहीँबाट सत्याग्रह सुरु गर्ने कार्यक्रम छ।

डा. केसीले सरकार निजी मेडिकल कलेज तथा मेडिकल माफियाको पक्षमा उभिएको र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति कटौती गर्न खोजेको आरोप लगाएका छन्।

उनले स्थापित नियम, कानुन र मूल्य–मान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथचन्द मेडिकल विश्वविद्यालय तथा चिकित्सा शिक्षासँग सम्बन्धित निकायहरूमा गरिएका नियुक्ति बदर गर्न माग गरेका छन्।

यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी मेडिकल कलेजहरूमा सिट संख्या बढाउने निर्णय तत्काल खारेज गर्न पनि उनले सरकारसँग माग गरेका छन्।