अब सिधै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट्न नपाइने, क्यूआरमार्फत अपोइन्टमेन्ट अनिवार्य, हप्तामा ३ दिन मात्रै भेट हुने


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्न चाहने सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणले अब क्यूआर कोडमार्फत अग्रिम नाम दर्ता गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले मन्त्रीको समय व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ भेटघाट कार्यविधि लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार अर्थमन्त्रीसँग भेटघाट मंगलबार, बुधबार र बिहीबार मात्र हुनेछ। भेटघाटको समय अपराह्न ४ बजेदेखि ६ बजेसम्म तोकिएको छ। भेट्न इच्छुक व्यक्तिले मन्त्रालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण र भेटघाटको उद्देश्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। त्यसपछि अर्थमन्त्रीको सचिवालयबाट अग्रिम समय (अपोइन्टमेन्ट) स्वीकृत भएपछि मात्र भेटघाट गर्न सकिनेछ।

मन्त्रालयका अनुसार यो व्यवस्था मन्त्रीको कार्यतालिका व्यवस्थित बनाउन, अनावश्यक भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले लागू गरिएको हो।